बेलारुससँग भारतको लज्जास्पद हार

Image

काठमाडौं ।

बेलारुससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत पराजित भएको छ । गएराति बहराइनको राजधानी मनामामा भएको खेलमा भारत बेलारुससँग ३–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा बेलारुसलाई गोलरहित बराबरीमा रोकेको भारतले दोस्रो हाफमा ३ खोल खान पुग्यो ।

बेलारुसको जितमा अर्टोम ब्यकोव, आन्द्रेई स्लोभिया र वालेरी ग्रोमीकोले एक/एक गोल गरे । बेलारुसले ४८, ६८ र अतिरिक्त समयमा गोल गरेको थियो ।

भारतले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग भने गर्न सकेन । भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमाकले तीन दिनअघि बहराइनविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सुरुवाती लाइनअपमा सात परिवर्तन गरेका थिए ।

गत बुधबार भएको बहराइनसँग भएको खेलमा भारतल २–१ गोल अन्तरले पराजित भएको थियो । भारतले एएफसी एसियन कप क्वालिफायरअन्तर्गतको तेस्रो चरण खेल्नुअघि बहराइनका मैत्रीपूर्ण म्याच खेलिरहेको हो ।

एसियन कप छनोटको तेस्रो चरणमा ग्रुप ‘डी’ मा रहेको भारतले कम्बोडिया, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल भने कठिन समूहमा छ । समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।

यो समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन् । नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।