सुरेश रैनाको नजरमा आईपीएल २०२२ को प्लेअफमा पुग्नसक्ने ४ टोली

Image

काठमाडौं ।

आईपीएल मेगा अक्सनमा कुनै पनि टिमले अनुबन्ध नगरेपछि लोकप्रिय क्रिकेटर सुरेश रैनाले अर्कै बाटो रोजेका छन् । त्यो हो– कमेन्ट्रीको संसार । चेन्नई सुपर किंग्स (सिएसके) र कोलकाता नाइट राइडर्स (केकेआर) बीचको खेलमा उनले कमेन्ट्री गरे ।

रैनाले कमेन्ट्रीका क्रममा केही महत्वपूर्ण कुरा पनि व्यक्त गरे । उनले जारी सिजनको प्लेअफका लागि छनोट हुनसक्ने चार टोलीको नाम पनि बताए । स्टार स्पोर्ट्समा कमेन्ट्री गर्दै रैनाले महेन्द्र सिंह धोनी सधैं आफ्नो कप्तान कप्तान रहने पनि उल्लेख गरे ।

यसबाहेक उनले जारी सिजनको प्लेअफका लागि छनोट हुनसक्ने चार टोलीको नाम पनि बताए । रैनाले आईपीएल २०१५ मा चेन्नई सुपर किंग्स, लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) प्लेअफमा पुग्नसक्ने भविष्यवाणी गरेका हुन् ।

साथै, उनले आफूले चेन्नईबाट खेल्दाको विगत पनि सम्झिएका थिए । रैना आईपीएलका सफल खेलाडीमध्ये एक हुन् । उनले २०५ आईपीएल म्याचमा एक शतक र ३९ अर्धशतकको मद्दतमा ५ हजार ५२८ रन बनाएका छन् ।

रैनाले २००८ देखि २०२२ सम्म आइपुग्दा २ सिजन मात्र खेलेनन् । २०२० को सिजनमा उनले नाम फिर्ता लिएका थिए । यसपालि भने रैनालाई कुनै पनि टिमले अनबुन्ध गरेनन् ।

कोलकाताको विजयी सुरुवात

आइपिएलमा गत उपविजेता कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न सिजनको पहिलो खेलमा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) लाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो ।

चेन्नईले दिएको १३२ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि अजिंक्य रहाणेले ४४, साम बिलिङ्सले २५, नितिश राणाले २१, श्रेयस अय्यरले अविजित २० र वैंकटेश अय्यरले १६ रन बनाए ।

चेन्नईका ड्वेन ब्राभोले तीन र मिचेल सान्टनरले एक विकेट लिए । त्यसअघि मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो ।

उसका लागि महेन्द्रसिंह धोनीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ५० रन बनाए । धोनीले आइपिएलमा तीन वर्षपछि अर्धशतकीय पारी खेलेका हुन् ।

त्यस्तै, रोबिन उथप्पाले २८ र कप्तान रवीन्द्र जडेजाले अविजित २६ रनको योगदान दिए । ऋतुराज गायकवाड शून्य, डेवन कन्वे र शिवम् दुबे तीन/तीन रनमा आउट भए । कोलकाताका उमेश यादवले दुई, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

जारी आइपिएलको दोस्रो दिन आज दुई खेल हुँदै छन् । पहिलो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।
साँझ ७ः४५ मा सुरु हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र पञ्जाब किंग्स खेल्ने छन् ।