काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको आईपीएलको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पञ्जाब किङ्स ५ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा बैंग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि ओडेन स्मिथले आक्रामक पारी खेले । उनले ८ बलमा तीन छक्का र एक चौकासहित अविजित २५ रन बनाए । त्यस्तै, शिखर धवन र भानुका राजपाक्षले ४३र४३, कप्तान मायंक अग्रवालले ३२ र लियाम लिभिङस्टोनले १९ रनको योगदान दिए । साहरुख खान २४ रनमा अविजित रहे ।
बैंग्लोरका मोहमद सिराजले २, हर्षल पटेल, वानिन्दु हसरंगा र अक्षदीपनाथले एक–एक विकेट लिए । त्यसअघि, मुम्बईस्थित डा. डी. पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०५ रन बनायो ।
उसका लागि कप्तान फाफ डुप्लेसिसले शानदार पारी खेले । उनले ५७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ८८ रनको पारी खेले । त्यस्तै, विराट कोहलीले २९ बलमा एक चौका र दुई छक्काको सहयोगमा अविजित ४१ रनको योगदान दिए ।
विकेटकीपर दिनेश कार्तिकले १४ बलमा तीन छक्का र तीन चौकासहति नटआउट ३२ रनको आक्रामक पारी खेले । अनुज रावत २१ रनमा आउट भए । पञ्जाब किंग्सका राहुल चाहर र अर्शदीप सिंहले मात्र एक/एक विकेट लिन सके ।













