काठमाडौं।
त्रिकोणात्मक टी–२० श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । खेल मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र पिएनजी सात वर्षपछि एकअर्काको सामना गर्न लागेका हुन् । यी दुई टिमले अन्तिमपटक सन् २०१५ मा आईसीसी टी–२० विश्व छनोट खेलेका थिए । सो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपाल टी–२० मा सात वर्षअघिको बदला लिन चाहन्छ । साथै, केही दिनअघि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाउँदा पीडामा रहेको नेपाली टिम पिएनजीविरुद्ध उत्कृष्ट खेल्ने तयारीमा छ । यदि आज जित निकाल्न सके नेपालले पहिलोपटक टी–२० अन्तर्राष्ट्रियमा पिएनजीलाई हराउनेछ ।
घरेलु मैदानमा त्यो इतिहास रच्ने सम्भावना पनि छ । यद्यपि, वानडे सिरिज जितेर उच्च मनोबलमा रहेको पिएनजी पनि नेपालसँगको जित यात्रालाई कायमै राख्ने लक्ष्यमा छ । राम्रो लयमा देखिएका यी दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान छ । नेपालले दोस्रो खेल बुधबार मलेसियाविरुद्ध खेल्ने तालिका छ ।
पिएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कुशल मल्ल, दिलीप नाथ, करण केसी, सोमपाल कामी र अविनाश बोहरा ।