वानडेमा चम्किँदा रोहितले टी-२० मा पनि पाए मौका, यस्तो छ पूर्ण टिम

Image

काठमाडौं।

नेपालले घरेलु मैदानमा टी २० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज (सोमबार) पपुवा न्यू गिनीसँग खेल्दैछ। खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ।

नेपाल दुई ओडिआई खेलमा क्लिन स्विपको बदला लिने लक्ष्यमा हुनेछ। नेपाल दुवै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो। पहिलो खेलमा नेपाल रोहितकुमार पौडेलको १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ्सका बाबजुद ६ रनले पराजित भएको थियो।

यस्तै, दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको १ सय ५ रनको शतकीय इनिङ्सका बाबजुद नेपाललाई ३ विकेटले हराउँदै पपुवा न्यू गिनीले सिरिज २-० ले जितेको थियो। तर, नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० आई र ओडिआईको टोली फरक बनाएको छ।

सन्दीप लामिछानेले घरेलु मैदानमा यही खेलमार्फत् टी–२० आईमा कप्तानी डेब्यू गर्ने छन्।

टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी छन्।

तर, क्यानले अन्तिम समयमा युवा अलराउन्डर रोहितलाई पनि समेटेको छ। रोहितले पपुवा न्यू गिनीविरूद्वको दोस्रो खेलमा ३५ रन बनाएको थियो।

ओडिआईमा १७ खेलमा ६२३ रन बनाएपनि रोहितको टी२० आईमा खराब रेकर्ड रहेको छ। उनले टी२० आईका ११ मध्य १० इनिङ्समा ८० रन मात्रै जोडेका छन्।