तेवटियाको उत्कृष्ट पारीमा लखनऊमाथि गुजरातको रोमाञ्चक जित

Image

काठमाडौं ।

नवप्रवेशी गुजरात टाइटन्सले १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले हराउँदै गुजरातले लिगमा विजयी सुरुवात गरेको हो ।

आफ्नो पहिलो खेलमा लखनऊले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि राहुल तेवटियाले २४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए ।

त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३, म्याथ्यु वेड, डेविड मिलरले ३०/३० र अविनभ मनोहरले अविजित १५ रनको योगदान दिए । ओपनर शुभमन गिल भने शून्यमै आउट भए ।

लखनऊका दुश्मन्था चामेराले दुई, कृणाल पाण्ड्या, दीपक हूडा र आवेश खानले एक/एक विकेट लिए । त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनायो ।

उसका लागि दीपक हूडा र आयुष बदोनीले अर्धशतकीय पारी खेले । हूडाले ४१ बलमा ६ चौका र दुई छक्कासहित ५५ रनको योगदान दिए । सस्तैमा शीर्ष क्रमका ब्याटर आउट भएको अवस्थामा हूडाले दबाबमा उत्कृष्ट पारी खेले ।

त्यस्तै, २२ बर्से बडोनीले पनि डेब्यूमै महत्वपूर्ण पारी खेले । उनले ४१ बलमा चार चौका र तीन छक्कासहित ५४ रन बनाए । इभन लुईस १०, क्विन्टन डिकक ७ र मनिष पाण्डे ६ रनमा आउट भए । कृणाल पाण्ड्या २१ रनमा अविजित रहे ।

गुजरातका मोहम्मद शामीले तीन, वरुण अरुणले दुई र राशिद खानले एक विकेट लिए । दुई वर्षपछि बलिङ गरेका कप्तान हार्दिक पाण्ड्या भने महँगा सावित भए । उनले ४ ओभरमा चार चौका र एक छक्कासहित ३७ रन खर्चिए ।