नेदरल्याण्ड्सले दियो न्यूजिल्याण्डलाई प्रतिस्पर्धात्मक लक्ष्य, माइकलले खेले उत्कृष्ट पारी

Image

काठमाडौं ।

एकदिवसीय सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले घरेलु टोली न्यूजिल्याण्डलाई २०३ रनको लक्ष्य दिएको छ । ओभलस्थित माउन्ट माउगानुईको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २०२ रन बनायो ।

उसका लागि माइकल रिप्पनले अर्धशतकीय पारी खेले । उनले ९७ बलमा चार चौकासहित एक छक्कासहित ६७ रनको योगदान दिए । रिप्पनले न्यूजिल्याण्डको ‘ए’ टिमबाट पनि खेलिसकेका छन् । उनी दक्षिण अफ्रिकीमूलका खेलाडी हुन् ।

त्यस्तै, कप्तान पिटर सीलारले ४३, विक्रमजित सिंहले १९, फिलिप बोइसवेनले १५, लोगानभान बीकले १४, स्टेफन माइबर्गले ११ रनको योगदान दिए । न्यूजिल्याण्डका ब्लेयर टिकरले चार, कायल जेमिसनले तीन, इस शोढी, म्याट हेनरी र कोलिन डी ग्रान्डहोमले एक/एक विकेट लिए ।

नेदरल्याण्ड्स र न्यूजिल्याण्डले यसअघि एक टी–२० म्याच खेल्ने तालिका थियो । तर, वर्षा बाधक बन्दा सो खेल हुन सकेन । टी–२० पछि दुवै टिमले तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेका हुन् ।