आईपीएलमा हैदराबादमाथि राजस्थानको फराकिलो जित

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) को पाँचौ खेलमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै राजस्थान विजयी भएको हो ।

हैदराबादले भने फराकिलो हारको साथ लिगमा सुरुवात गरेको छ । पहिलो खेलमा राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि एडन मार्करमले अर्धशतकीय पारी खेले पनि टिमलाई भने जित दिलाउन सकेनन् । उनले ४१ बलमा ५ चौका र २ छक्कासहित अविजित ५७ रन बनाए । अलराउन्डर वासिङ्टन सुन्दरले १४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४० रनको आक्रामक पारी खेले । रोमारियो सेफर्डले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

राजस्थानका युजवेन्द्र चहलले तीन, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए । त्यसअघि महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले उत्कृष्ट पारी खेले । उनले २७ बलमा पाँच छक्का र तीन चौकासहित ५५ रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कलले ४१, जोस बटलरले ३५, शिमरोन हेटमायरले ३२, यशस्वी जैसवालले २० र रियान परागले १२ रनको योगदान दिए ।

हैदराबादका टी नटराजन, उरमान मलिकले दुई/दुई, भुवनेश्वर कुमार र रिमोरियो सेफर्डले एक/एक विकेट लिए ।हैदराबाद र राजस्थानबीचको खेलमा कुल २० छक्का र २७ चौका प्रहार भए । जसमध्ये १४ छक्का र १६ चौका राजस्थान र ६ छक्का र ११ चौका हैदारबादका ब्याटरले हिर्काए ।