पाकिस्तानमाथि अष्ट्रेलियाको फराकिलो जित, यी ३ खेलाडीको उत्कृष्ट प्रदर्शन

Image

काठमाडौं ।

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ८८ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

पाकिस्तानले भने सिरिजमा हारबाट सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन मात्र बनाउन सक्यो ।

उसका ओपनर इमाम उल हकले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके । उनले ९६ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा हकको यो सातौं शतक हो ।

कप्तान बाबर आजमले ७२ बलमा ६ चौकासहित ५७ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । हक र बाबरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै पाकिस्तानको पारी उकासेका थिए ।

अस्ट्रेलियाका लागि एडम जम्पाले चार, मिचेल स्वीपसन, ट्रभिस हेडले दुई/दुई, शेन एबोट र नाथन एलिसले एक/एक विकेट हात पारे । त्यसअघि लोहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३१३ रन बनायो ।

उसका ओपनर ट्रभिस हेडले ७२ बलमा १२ चौका र ३ छक्कासहित १०१ रनको शतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो शतक हो । पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र हेडले ११० रनको शतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

फिन्चले ३६ बलमा १ छक्कासहित २३ रन बनाए । ​बेन म्याक्डरमोटले ७० बलमा ४ चौकासहित ५५ रन जोडे । क्यामरन ग्रीन ४० रनमा अविजित रहे । एकदिवसीय अन्तर्राष्ट्रियमामा उनको यो डेब्यु खेल हो ।

पाकिस्तानका हरिस रौफ र जाहिद मोहम्मदले दुई/दुई, इफ्तिखर अहमद र खुसदील साहले एक/एक विकेट हात पारे । पाकिस्तान र अस्ट्रेलियाबीचको दोस्रो खेल बिहीबार हुनेछ ।