काठमाडौं ।
त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो दोस्रो खेलअन्तर्गत मलेसियाविरुद्ध नेपालले टस हारेर फिल्डिङको मौका पाएको छ । यी दुई टोलीबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । दोस्रो खेलमा नेपालले लोकेश बमको स्थानमा दिलिप नाथलाई मौका दिएको हो । दिलिपको यो डेब्यू म्याच हो ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पिएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुवै टोलीको दुई अंक छ ।
नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपाल हाबी देखिन्छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एकपटक विजयी भएको छ ।
नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, दीलिप नाथ, कुशल मल्ल र रोहित पौडेल ।












