मलेसियाद्वारा नेपाललाई सामान्य लक्ष्य, दीपेन्द्रले गरे सबैभन्दा किफायती बलिङ

Image

काठमाडौं ।

टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनायो ।

उसका लागि जुबैदी जुल्किफ्लेले १५ बलमा तीन चौका र दुई छक्कासहित ३२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, कप्तान अहमद फैजले २४, मोहम्मद आमिरले १६, सैयद अजिजले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसीले दुई/दुई, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले एक/एक विकेट लिए । पहिलो इनिङ्समा ४ अ‍ोभरको स्पेल पूरा गर्ने बलरमा सबैभन्दा बढी किफायती दीपेन्द्रसिंह ऐरी रहे । उनले ४ ओभरमा १४ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले लोकेश बमको स्थानमा दिलिप नाथलाई मौका दिएको हो । दिलिपको यो डेब्यु खेल हो ।सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ ।

पहिलो खेलमा मलेसियाले समेत पिएनजीलाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो । तालिकामा दुवै टोलीको दुई अंक छ । नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपाल हाबी देखिन्छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एकपटक विजयी भएको छ ।

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), दीलिप नाथ, कुशल मल्ल, रोहितकुमार पौडेल, करण केसी र अविनाश बोहरा ।