आइपिएलमा ब्राभोले हालसम्म यति धेरै विकेट लिएर बनाए नयाँ कीर्तिमान

Image

काठमाडौं ।

चेन्नई सुपर किंग्सका अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान बनाएका छन् । बिहीबार राती लखनऊ सुपर जायन्ट्सका दीपक हुडालाई आउट गर्दै लिँदै ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर बने ।

ब्राभोले मुम्बई इन्डियन्सका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गालाई पछि पार्दै यस सफलता हात पारेका हुन् । उनले १ सय ५२ खेलमा १ सय ७१ विकेट लिएका छन् । मलिङ्गाले १ सय २२ खेलमा १ सय ७० विकेट लिएका छन् । त्यस्तै भारतीय अमित मिश्राले १ सय ५४ खेलमा १ सय ६६ विकेट लिएका छन् ।

पियुष चवालाले १ सय ६५ खेलमा १ सय ५७ विकेट लिएका छन् । हरभजनसिंहले १ सय ५०, रविचन्द्रन आश्विनले १ सय ४५ र सुनिल नारायणले १ सय ४४ विकेट लिएका छन् । ब्राभोले २०११ देखि चेन्नईबाट खेल्दै आएका छन् । २०१४ मा चेन्नईले ब्राभोलाई रिटेन गरेको थियो । तर चेन्नई दुई वर्ष प्रतिबन्धमा परेपछि गुजरात लायन्सबाट २०१६ र २०१७ मा खेलेका थिए ।

तर २०१८ मा चेन्नईले पुन टोलीमा फर्काएको थियो । यस सिजमा भने चेन्नईले अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको थियो । चेन्नईलाई २०१८ र २०२१ को उपाधि जिताउन उनले महत्वपूर्ण प्रदर्शन गरेका थिए । उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मध्य गतिमा बलिङ गर्ने उनले डेथ ओभरमा लगातार विकेट लिँदै आएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् ।