काठमाडौं ।
टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियाले पपुवा न्यूगिनी (पिएनजी) लाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो ।
टी–२० अन्तर्राष्ट्रियमा मलेसियाले पिएनजीलाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । यसअघि उसले यही सिरिजमा पिएनजीलाई १८१ रनको लक्ष्य दिएको थियो । सो रेकर्ड मलेसियाले यही सिरिजमा तोड्यो ।
तेस्रो खेलमा मलेसियाका लागि सैयद अजिज र कप्तान अहमद फैजले आक्रामक पारी खेले । अजिजले ३५ बलमा ८ चौका र तीन छक्कासहित ६४ रनको योगदान दिए । त्यस्तै, फैजले ४३ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रन बनाए ।
जुबैदी जुल्किफ्लेले २२ बलमा चार छक्का र चार चौकाको सहयोगमा ४६ रनको आक्रामक पारी खेले । पिएनजीका काबुआ मोरियाले सर्वाधिक चार विकेट लिए । मलेसिया आजको खेल जितेर एक खेल अगावै फाइनलमा पुग्न चाहन्छ । पिएनजी भने आजको खेल जितेर सिरिजको फाइनलमा पुग्ने सम्भावना जीवितै राख्ने सोचमा छ ।














