मलेसियामाथि पिएनजीको कीर्तिमानी जित, टियू मैदानमा उरा एक्लैले हिर्काए १० छक्का

Image

काठमाडौं ।

टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरुद्ध पपुवा न्यूगिनी (पिएनजी) ८ विकेटले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रियमा मलेसियामाथि पिएनजीको यो हालसक्कै फराकिलो जित हो । साथै, उसले पहिलोपटक १९७ रनको लक्ष्य पनि पूरा गर्न सफल भएको हो ।

मलेसियाले दिएको १९७ रनको कीर्तिमानी लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि टोनी उराले ३४ बलमा १० छक्का र दुई चौकासहित अविति ८६ रन बनाए । त्यस्तै, कप्तान असद भालाले ५१ बलमा एक छक्का र आठ चौकाको सहयोगमा नटआउट ७४ रनको योगदान दिए ।

चार्ल्स अमिनी २८ र लेगा सियाका शून्यमा आउट भए । मलेसियाका स्याजरुल इद्रुस र मोहम्मद वाफिकले एक/एक विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो ।

टी–२० अन्तर्राष्ट्रियमा मलेसियाले पिएनजीलाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । यसअघि उसले यही सिरिजमा पिएनजीलाई १८१ रनको लक्ष्य दिएको थियो । सो रेकर्ड मलेसियाले यही सिरिजमा तोड्यो ।
तेस्रो खेलमा मलेसियाका लागि सैयद अजिज र कप्तान अहमद फैजले आक्रामक पारी खेले । अजिजले ३५ बलमा ८ चौका र तीन छक्कासहित ६४ रनको योगदान दिए । त्यस्तै, फैजले ४३ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रन बनाए ।

जुबैदी जुल्किफ्लेले २२ बलमा चार छक्का र चार चौकाको सहयोगमा ४६ रनको आक्रामक पारी खेले । पिएनजीका काबुआ मोरियाले सर्वाधिक चार विकेट लिए । आजको जितसँगै फाइनल पुग्ने पिएनजीको सम्भावना जीवितै छ । शनिबार नेपालले मलेसियालाई हराए पिएनजी फाइनलमा पुग्नेछ । यदि मलेसियाले नेपाललाई हराएमा भने फाइनल पुग्ने पिएनजीको सपना ध्वस्त हुनेछ ।