टी–२० सिरिजको अन्तिम खेलमा पनि रोहितले बनाए उत्कृष्ट अर्धशतक

Image

काठमाडौं ।

त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपाली युवा ब्याटर रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। उनले ३२ बलमा ५ चौकासहित अर्धशतक पूरा गरेका हुन्। यो उनको पहिलो टी–२० आई अर्धशतक हो।

नेपालले १३ ओभरको सकिँदा २ विकेटको क्षतिमा १ सय २९ रन बनाएको छ। नेपाल जारी सिरिजको फाइनलमा पुगिसकेको छ। नेपाल लगातार चौथो जित निकाल्ने सोचमा छ। नेपालले पहिलो म्याचमा पपुवा न्युगिनीलाई १५ रन, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा फेरि पीएनजीलाई ३७ रनले हराएको थियो। फाइनल पुग्नका लागि मलेसियाले नेपाललाई हराउनुपर्ने नै हुन्छ। तर, घरेलु मैदानमा उत्कृष्ट लयमा रहेको नेपाललाई हराउन सहज भने हुने छैन।

नेपाल बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रै प्रदर्शन गरेको छ। पीएनजीसँग १ सय ९७ रनको लक्ष्य दिँदा पनि हारेको मलेसिया दबाबमा पक्कै पनि छ। शनिबार बिदाको दिन नेपाली टिमलाई दर्शकको पनि उत्तिकै साथ रहनेछ। नेपालाई हराउन सके मात्रै मलेसिया फाइनलमा पुग्ने छ। यदि पराजित भएमा पीएनजी फाइनलमा जानेछ।

मलेसिया र पीएनजीले समान १–१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडि छ। तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा छ। नेपाल र मलेसिया हालसम्म ७ पटक टटी–२०अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन्। नेपालले मलेसियालाई ६ पटक पराजित गरेको छ भने १ पटक मलेसियासँग नेपाल पराजित भएको छ।

नेपालले मलेसियाविरुद्ध घरेलु मैदानमा शतप्रतिशत नतिजा निकालेको छ। नेपालले ३ पटक आफ्नो मैदानमा मलेसियाविरुद्ध खेल्दा ३ पटक नै सहज जित हात पारेको छ। नेपालले आज प्लेइङ–११ एक परिवर्तन गरेको छ। नेपालले सोमपाल कामीलाई आराम दिँदै कमलसिंह ऐरीलाई मौका दिएको छ।

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख, करण केसी, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान) र अविनाश बोहरा।