काठमाडौं ।
नेपाली टिमका महत्वपूर्ण ब्याटर दीपेन्द्रसिंह ऐरीले इतिहास रचेका छन् । नेपालको तर्फबाट टी–२० मा सर्वाधिक अर्धशतक बनाउने संयुक्त ब्याटर बन्दै उनले इतिहास रचेका हुन् ।
दीपेन्द्रले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज मलेसियाविरुद्ध ५० रन पूरा गरेसँगै यो उपलब्धि हासिल गरे । यो प्रारूपमा दीपेन्द्रको यो पाँचौं अर्धशतक हो । यससँगै उनले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन् ।
पारसले टी–२० मा ४ अर्धशतक बनाएका थिए । साथै, दीपेन्द्रको नाममा रहेको ५ अर्धशतकको रेकर्ड बराबर पनि गरे । अब उनी र कुशल संयुक्तरूपमा टी–२० मा सर्वाधिक अर्धशतक (५) बनाउने ब्याटर बनेका छन् । दीपेन्द्रले अघिल्लो खेलमा पनि अर्धशतक बनाएका थिए ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आज नेपालले सोमपाल कामीलाई विश्राम दिएर कमलसिंह ऐरीलाई प्लेइङ–११ मा समावेश गरेको हो । नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ । आजको खेल जित्दै नेपाल सिरिजमा अपराजित रहन चाहन्छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रन, दोस्रोमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले हराएको थियो ।
फाइनलमा स्थान बनाउन मलेसियालाई भने आज खेल जित्नैपर्ने दबाब छ । मलेसिया पराजित भए फाइनलमा पिएनजी पुग्नेछ । पिएनजीले शुक्रबार भएको खेलमा मलेसियालाइृ ८ विकेटले हराएको थियो । हालसम्म मलेसिया र नेपालले सातपटक एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका छन् । जसमा नेपालले मलेसियालाई ६ खेलमा हराएको छ । २०२० को एक खेल मात्र नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।
नेपालकाे प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अविनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।