काठमाडौं ।
नेपाली क्रिकेट टिमका महत्वपूर्ण ब्याटर दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान तोडेका छन् । उनले टी-२० अन्तर्राष्ट्रियमा एक पारीमा सर्वाधिक रन बनाउने मामलामा ज्ञानेन्द्रको रेकर्ड तोडेका हुन् ।
दीपेन्द्रले यो उपलब्धि घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध हासिल गरे । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित ११० रनको अविजित शतकीय पारी खेले ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय एक पारीमा सर्वाधिक रन बनाउने रेकर्ड ज्ञानेन्द्रको नाममा थियो । उनले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १०७ रनको पारी खेलेका थिए । अब मल्लको सो रेकर्ड ऐरीले तोडेका छन् ।
दीपेन्द्रकै अविजित ११० रनको पारीसँगै नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिन सफल भयो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।
ऐरी बने शतक बनाउने तेस्रो ब्याटर
दीपेन्द्र नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो ब्याटर बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाइसकेका छन् । त्यस्तै, आज रोहित पौडेलले ५१, आसिफ शेखले १८, कुशल भुर्तेलले १२ र मोहम्मद आदिल आलमले १४ रनको योगदान दिए ।
मलेसियाका मोहम्मद आमिर, वीरन्दीप सिंह, मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एकरएक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आज नेपालले सोमपाल कामीलाई विश्राम दिएर कमलसिंह ऐरीलाई प्लेइङ–११ मा समावेश गरेको हो । नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ ।
आजको खेल जित्दै नेपाल सिरिजमा अपराजित रहन चाहन्छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रन, दोस्रोमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले हराएको थियो ।