काठमाडौं ।
भारतका जारी १५ औँ सिजनको इण्डियन प्रिमियर लिगमा (आईपीएल) को नवौँ खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई १९४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डाक्टर डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो ।
उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतक बनाए । उनले ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका हुन् । आईपीएलमा बटलरको यो दोस्रो शतक हो । साथै, आईपीएल २०२२ मा शतक बनाउने उनी पहिलो ब्याटर पनि बनेका छन् ।
त्यस्तै, शिमरोन हेटमायरले ३५ र कप्तान सञ्जु सामसनले ३० रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकका समेत रन जोड्न सकेनन् । मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै, ट्यामल मिल्सले तीन र किरण पोलार्डले एक विकेट लिए ।
जारी सिजनमा राजस्थानले सनराइजर्स हैदराबादलाई ६१ रनले हराएको थियो । मुम्बई भने पहिलो खेलमा दिल्लीसँग ४ विकेटले पराजित भएको छ । हालसम्म मुम्बईले सर्वाधिक पाँचपटक र राजस्थानले एकपटक आईपीएल उपाधि जितेका छन् ।