आफ्नो कप्तानीमा नेपालले लगातार ४ खेल जितेपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

घरेलु मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार चौथो निकालेको छ । चौथो खेल जित्ने क्रममा नेपालले मलेसियालाई ८५ रनले हरायो । योसँगै नेपाल जारी सिरिजमा लगातार चौथो खेल जित्दै फाइनल पुग्ने नेपाल पहिलो टोलीसमेत बनेको छ ।

मलेसिया भने आजको हारसँगै सिरिजबाट बाहिरिएको छ । ऊ हार्दा पपुवा न्यूगिनी –पिएनजी) भने फाइनलमा पुग्न सफल भयो । आफ्नो चौथो खेलमा नेपालले दिएको २२४ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि वीरन्दीप सिंहले ४७, कप्तान अहमद फैजले ३३, सैयद अजिजले १७ र ऐनूल हाफिजले १८ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरीले दुई/दुई, रोहितकुमार पौडेलले र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित अविजित ११० रन बनाए ।

दीपेन्द्र नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो ब्याटर बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाइसकेका छन् । त्यस्तै, आज रोहित पौडेलले ५१, आसिफ शेखले १८, कुशल भुर्तेलले १२ र मोहम्मद आदिल आलमले १४ रनको योगदान दिए । मलेसियाका मोहम्मद आमिर, वीरन्दीप सिंह, मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एक/एक विकेट लिए ।

मलेसियासँगको दोस्रो म्याच पनि जितेपछि नेपाली कप्तान सन्दीप लामिछानेले म्याचपछि त्रिविमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूले कुनै पनि दबाब नलिएर खेल खेलेको बताएका छन्।

मलेसियालाई यो म्याच जित्नैपर्ने दबाब भएकाले आफूहरूले आफ्नो बेसिकहरू स्टिक भएर खेल्न खोजेको बताएका छन्। उनले पावरप्लेमा दुई विकेट खस्ने समस्या फेरि दोहोरिएको पनि बताएका छन्। उनले दीपेन्द्रसिंह ऐरीको खुलेरै तारिफ गरेका छन् । उनले दीपेन्द्रलाई धन्यवादसमेत दिएका छन्।

‘पावरप्लेमा दुई विकेट खस्ने समस्या बारम्बार आइरहेको छ। थ्याङ्स टू दिप्पी। उनले इनिङ्सलाई होल्ड गरेर अगाडि बढाएँ। उनले शतक बनाउनु धेरै राम्रो हो। उसले पहिलेदेखि नै शतक डिजभ गरिरहेको थियो। तर, आजचाहिँ बनाएरै छाड्यो,’ सन्दीपले भने।

उनले त्रिविको मैदानमा ब्याटिङ गर्न निकै सजिलो रहेको पनि बताएका छन्। बलिङका लागि भने मैदान त्यति उपयुक्त नभएको उनले भने । थोरै पनि लेन्थ र लाइन मिस हुने बित्तिकै चौका/छक्का खाने समस्या रहेको बताएका छन्।

उनले २ सय ३५ सम्म लक्ष्य पुग्ने आँकलन गरिएको भएपनि २ सय २३ पनि ठूलै लक्ष्य भएको बताएका छन्। सन्दीपले पावरप्लेमा दुई विकेट खसेर पनि यो लक्ष्यसम्म पुग्नु ठूलो सफलता भएको बताएका छन्। उनले सोमपाल कामीलाई आज नखेलाउनुको कारण पनि बताएका छन्।

उनले एकदिवसीयदेखि लगातार म्याच खेलिरहेकाले फाइनलका लागि आराम पुगोस् भनेर विश्राम दिइएको बताएका छन्। उनले फाइनल पनि जित्नकै लागि खेल्नेसमेत बताएका छन्। पीएनजी बलियो टिम भएपनि राम्रो क्रिकेट खेल्ने उनको भनाइ थियो।