काठमाडौं ।
अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली पाकिस्तानले जितेको छ । गएराति सम्पन्न निर्णायक तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २–१ ले जितेको हो ।
तेस्रो खेलमा २ सय ११ रनको लक्ष्य पाकिस्तानले ३७.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनी ११५ बलमा १२ चौका प्रहार गर्दै १०५ रनमा अविजित रहे ।
बाबरले एक रन मात्र बनाएको बेला जीवनदान पाएका थिए । त्यसको फाइदा उठाउँदै उनले आफ्नो १६ औं शतक पूरा गरे । सिरिजमा बाबरको यो लगातार दोस्रो शतक हो । दोस्रो खेलमा उनले ११४ रनको पारी खेलेका थिए ।
योसँगै बाबरले ८४ एकदिवसीय पारीमा १६ शतक पूरा गर्ने विश्वकीर्तिमान पनि बनाएका छन् । यसअघि यो उपलब्धि कुनै पनि ब्याटरले हासिल गरेका थिएनन् । अष्ट्रेलियाविरुद्धको सिरिजमा बाबरले तीन खेलमा कुल २७६ रन बनाए ।
त्यस्तै, तेस्रो खेलमा इमाम उल हकले १०० बलमा ६ चौका र एक छक्कासहित अविजित ८९ रनको योगदान दिए । ओपनर फखर जमान १७ रनमा आउट भए । अस्ट्रेलियाका नाथन एलिसले एक विकेट हात पारे ।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४१.५ ओभरमा २१० रनमै समेटियो । उसका एलेक्स केरीले ५६ रनको अर्धशकीय पारी खेले । ६१ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।
सेन एबटले ४९ , बेन म्याकडर्मेटले ३६, क्यामरोन ग्रीनले ३४ र मार्कस स्टोनिसले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन् । पाकिस्तानका हरिस रौफ र मोहम्मद वसिमले तीन/तीन, शाहीन साह अफ्रिदीले दुई तथा इफ्तिखार अहमद र जाहिद महम्मदले एक/एक विकेट हात पारे । पहिलो खेलमा ८८ रनले पराजित पाकिस्तानले दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो ।