इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो सातौंपटक विश्वकपको उपाधि

Image

काठमाडौं ।

आइसिसी एदिवसीय महिला विश्वकको उपाधि अस्ट्रेलियाले उचालेको छ । उ आज सम्पन्न फाइनलमा साविक विजेता इंग्ल्याण्डलाई ७१ रनले हराउँदै सातौंपटक विश्व विजेता बनेको हो ।

३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २८५ रन मात्र बनाउन सक्यो । नेटली स्काइभरले शतकीय पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन भने सकिनन् । १४८ रनमा अविजित रहेकी उनले १२१ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरिन् ।

नवौं विकेटका लागि स्काइभर र सार्लेट डिनले ६५ रनको साझेदारी गरेका थिए । डिनले २१ रन बनाइन् । त्यस्तै पाँचौ विकेटका लागि स्काइभर र सोफी डंकलीले ५० रनको साझेदारी गरेका थिए । डंकली २३ रन बनाएर आउट भइन् ।

अस्ट्रेलियाका लागि एलना किंग्स र जेस जोनसेनले तीन–तीन मेगन स्कटले २ तथा ताहिल्या म्याकग्रेथ र एश्ले गार्डनरले एक–एक विकेट लिए ।

यसअघि न्युजिल्याण्डको क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५६ रन बनाएको थियो ।

उसका लागि एलिसा हेलीले शतकीय तथा राचले हाइनेस र बेथ मोनीले अर्धशतकीय पारी खले । १७० रन बनाएकी हेलीले १३८ बलमा २६ चौका प्रहार गरिन् ।

९३ बलको सामना गरेकी हाइनेसले सात चौकासहित ६८ र मोनीले ४८ बलमा आठ चौकासहित ६२ रन बनाए । एलिस पेरी १७ रनमा अविजित रहिन् ।

पहिलो विकेटका लागि हेली र हाइनेसले १६० तथा दोस्रो विकेटका लागि हेली र मोनीले१५६ रनको उत्कृष्ट साझेदारी गर्दै अस्ट्रेलियाको पारी उकासेका थिए । इंग्ल्याण्डका लागि अन्या श्रेबसोलले तीन तथा सोफी एक्लेस्टोनले एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।