काठमाडौं ।
एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ३३४ रनको लक्ष्य दिएको छ । ह्यामिल्टनस्थित सेडन पार्कमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३३ रन बनायो ।
उसका लागि विल योङ र मार्टिन गुप्टिलले शतकीय पारी खेले । योङले ११२ बलमा चार छक्का र ६ चौकासहित १२० रन बनाए । उनले यही सिरिजको पहिलो खेलमा पनि शतक बनाएका थिए ।

त्यस्तै, गुप्टिलले १२३ बलमा ११ चौका र दुई छक्कासहित १०६ रनको पारी खेले । कप्तान टम लाथम २३, डग ब्रेसवेल २२, रस टेलर १४, हेनरी निकोल्स दुई, माइकल ब्रेसवेल तीन र कोलिन डी ग्रान्डहोम चार रनमा आउट भए । .. इश सोढी १३ र कायल जेमिसन ६ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका फ्रेद क्लासेन, क्लेटन फ्लोयड, आर्यन दत्तले र लोगानभान वीकले दुई–दुई विकेट लिए । सिरिजमा न्यूजिल्याण्डले २–० को अग्रता बनाएको छ । ऊ पहिलो खेलमा ७ विकेट र दोस्रो म्याचमा ११८ रनले विजयी भएको थियो ।
