दीपेन्द्र ऐरीले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो ब्याटर

Image

काठमाडौं ।

नेपाली मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले इतिहास रचेका छन् । उनले नेपालको तर्फबाट टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत जारी फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरूद्व २१ रन बनाएसँग दीपेन्द्रले यो उपलब्धि हासिल गरे ।

उनले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित यो उपलब्धि हात हासिल गरेका हुन् । दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्वको खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

एकै ओभरमा ३ विकेट पतन

फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपालले एकै ओभरमा तीन विकेट गुमाएको छ । नेपालले १२ औं ओभरमा आरिफ शेख, आसिफ शेख र दिलिप नाथलाई गुमाएको हो । दिलिप ११.५, आरिफ ११.३ आसिफ ११.१ ओभरमा आउट भए । दिलिप र आरिफ शून्य र आसिफ २९ बलमा २९ रन बनाएर आउट भएका हुन् । उनीहरूलाई सेमो कामियाले आउट गरे ।

नेपालले दोस्रो विकेटको रूपमा रोहितकुमार पौडेललाई गुमाउनपुग्यो । ३ बलको सामना गरेका उनी २ रनममा आउट भए । जारी सिरिजमा रोहित राम्रो लयमा देखिएका थिए । तर, फाइनलमा भने उनको ब्याट शान्त रह्यो ।

नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमायो । उनले आज २२ बलमा ५ चौकाको मद्दतमा २५ रन बनाए । कुशल छक्का हान्ने धुनमा काबुआ मोरियाको बलमा आउट हुन पुगे ।

नेपालले आज पनि टस हारेर ब्याटिङको निम्तो पाएको हो । नेपाल–पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको छ ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको स्थानमा आज सोमपाल कामीले मौका पाएका छन् ।