काठमाडौं ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले ।
त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई, आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको स्थानमा आज सोमपाल कामीले मौका पाएका छन् ।