Khabar Board

हैदराबादविरुद्ध लखनऊको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको आईपीएलमा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १२ रनले हराउँदै लखनऊले लगातार दोस्रो हात पारेको हो ।

लखनऊले दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) लाई हराएको थियो । पहिलो खेलमा भने ऊ गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुन पुग्यो । हैदराबादको भने यो लगातार दोस्रो हार हो । ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ६१ रनको पराजित भएको थियो ।

दोस्रो खेलमा लखनऊले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल त्रिपाठीले ४४, निकोलस पूरनले ३४, वासिङ्टन सुन्दरले १८, कप्तान केन विलियम्सनले १६, अभिषेक शर्माले १३ र एडेन मार्कमले १२ रन बनाए ।

लखनऊका लागि आवेश खानले ४ ओभरमा २४ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच पनि घोषित भए । आवेश गत सिजनमा सर्वाधिक विकेट लिने दोस्रो बलर पनि हुन् । उनले सो सिजनमा १६ खेलमा २४ विकेट लिए ।

यसपालि पनि आवेशले आफ्नो उत्कृष्ट लयमा कायमै राखेका छन् । उनले उमेर समूहमा नेपालविरुद्ध पनि खेलिसकेका छन् । आवेशले सन् २०१६ मा भएको यू–१९ विश्वकपमा नेपालविरुद्ध खेलेका थियो । सो खेलमा उनले ८ ओभरमा एक मेडनसहित ३४ रन खर्चिर ३ विकेट लिए ।

त्यस्तै, हैदराबादविरुद्ध जेसन होल्डरले तीन र कृणाल पाण्ड्याले दुई विकेट लिए । त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पारी खेले । राहुलले ५० बलमा ६ चौका र एक छक्कासहित ६८ रन बनाए । योसँगै उनले टी–२० क्रिकेटमा नयाँ उपलब्धि हासिल गरेका छन् ।

राहुलले टी–२० क्रिकेटमा ५० अर्धशतक बनाउने छैटौं भारतीय ब्याटरको उपलब्धि हासिल गरेका हुन् । उनीभन्दा अगाडि विराट कोहली (७५), रोहित शर्मा (६९), शिखर धवन (६३), गौतम गम्भीर (५३) र सुरेश रैना (५१) ले टी–२० मा ५० भन्दा बढी अर्धशतक बनाएका छन् ।

त्यस्तै, हूडाले ३३ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५३ रनको योगदान दिए । आयुष बदोनी १९ र मनिष पाण्डे ११ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

हैदराबादका रोमारियो सेफर्ड र वासिङ्टन सुन्दरले दुई/दुई विकेट लिए । यो जितसँगै लखनऊ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । अंकविहीन हैदराबाद भने तालिकाको पुछारमा छ । त्यस्तै, अंक तालिकाको शीर्ष स्थानमा राजस्थान रोयल्स रहेको छ ।

दोस्रो, तेस्रो, चौथो, छैटौं, सातौँ, आठौँ र नवौँ स्थानमा क्रमशः कोलकाता, गुजरात, पञ्जाब, दिल्ली, बैंग्लोर, मुम्बई र चेन्नई रहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.