काठमाडौं ।
दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडीमध्ये एक हुन् । उनी यू-१९ टिमदेखि नै नेपालका लागि राम्रो खेल्ने खेलाडीमा पर्छन् । टिमको उपकप्तान पदबाट हटाए पनि दीपेन्द्रको प्रदर्शनमा केही प्रभाव परेन ।
बरु त्यसपछि उनले दुवै प्रारूपमा शतक बनाए । साथै, सोमबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिज जिताउन ऐरीले अहम् भूमिका खेले । लजालु स्वभावका उनी नेपाली क्रिकेट समर्थकमाझ राम्रो पहिचान बनाएका छन् । दीपेन्द्र तीव्र गतिमा रन बटुल्न सिपालु खेलाडीको सूचीमा पनि पर्छन् ।
सिंगलरडबल रनका साथ ब्याटिङ गर्न रचाउने उनले धेरै पटक विस्फोटक पारी पनि खेलिसकेका छन् । लगातार राम्रो प्रदर्शन गर्दै आएका ऐरीले एक टेलिभिजन कार्यक्रममा आफूलाई मनपर्ने विश्व क्रिकेटका दुई खेलाडीको बारेमा बताएका छन् ।
उनले आफू विश्व क्रिकेटमा महेन्द्रसिंह धोनी र स्टिभ स्मिथको क्रिकेटबाट प्रभावित भएको बताए । तपाइलाईं मनपर्ने विदेशी क्रिकेटर को ? उत्तरमा ऐरी भन्छन्, ‘मलाई महेन्द्रसिंह धोनी र अष्ट्रेलियाका स्टिभ स्मिथको ब्याटिङ मनपर्छ ।’
ऐरीले हालसम्म नेपालका लागि १६ एकदिवसीय र ३९ टी-२० म्याच खेलेका छन् । उनले १६ ओडीआईमा २७ चौका र ३ छक्काको मद्दतमा २९१ रन बनाएका छन् । यो फर्म्याटमा ऐरीको उच्च स्कोर १०५ रन हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय टी–२० को ३४ पारीमा ऐरीले ८३ चौका र ३२ छक्कासहित १ हजार ३३ रन बनाएका छन् । यो प्रारूपमा उनको उच्च स्कोर अविजित ११० रन हो । दीपेन्द्रले टी–२० मा १५ र एकदिवसीयमा सात विकेट पनि लिएका छन् ।