नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

Image

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको थियो ।

नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिकाको बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।

वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान थियो । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो । अब नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।