काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।
न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।
समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ।
‘हेड टू हेड’
यी दुई टिम हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने–सामने भएका छन् । जसमा भारत नतिजामा अघि छ । भारतले हालसम्म पाकिस्तानविरुद्ध हालसम्म आठ खेलमा जित निकालेको छ । पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । यी दुई टिमबीचको एक खेल भने ‘टाइ’ भएको थियो । उक्त खेलमा पनि भारतले ‘बल आउट’ पाकिस्तानलाई हराएको थियो ।
ट्वान्टी–२० विश्वकपमा भने यी दुई टिम हालसम्म सातपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । यसमा पनि भारत अघि छ । भारतले पाँच खेलमा जित निकाल्दा पाकिस्तानले एक खेलमा मात्र जित निकालेको छ । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।
पछिल्लो पटक सन् २०२२ मा यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका थिए । अस्ट्रेलियाको मेलबर्नमा भएको ट्वान्टी–२० विश्वकपकै उक्त खेलमा भारतले आफ्नो चिर–प्रतिद्वन्दीविरुद्ध चार विकेटको जित निकालेको थियो ।
ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले सन् २०२१ को संस्करणमा पहिलो जित निकालेको थियो । उक्त संस्करणमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको थियो । भारत–पाकिस्तान ट्वान्टी–२० क्रिकेट तथ्यांकमा यो नै विकेटको आधारमा निस्किएको सबैभन्दा ठूलो जितसमेत हो ।