विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा, पाकिस्तान सुपर–८ मा पुग्न सम्भावना कति?

Image

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैैछन् । समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ ।

दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ ।

पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भयो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्यान्डमाथि १२ रनको जित निकालेको हो ।

समूह ‘ए’मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्यान्ड छन् । भारत चार अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक रहेको आयोजक अमेरिका दोस्रो स्थानमा छ भने दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ । यो समूहमा रहेका पाकिस्तान र आयरल्यान्डले अंक जोड्न सकेका छैनन्।

के पाकिस्तान अझै सुपर–८ मा पुग्न सक्छ?

पाकिस्तान अझै सुपर–८ मा पुग्ने सम्भावना छ । तर, पाकिस्तानका लागि यो काम गर्न निकै कठिन छ। सुपर-८ मा पुग्न यो समीकरण पूरा हुनुपर्नेछ ।

पाकिस्तानले समूह चरणका बाँकी दुई खेल जित्नैपर्ने :

पाकिस्तानले समूह चरणमा अझै दुई खेल खेल्न बाँकी छ। जुन ११ मा क्यानडा र जुन १६ मा आयरल्यान्डसँग छ । पाकिस्तानले यी दुवै खेल जित्नैपर्ने हुन्छ। जितहासिल गरे पनि छनोटमा हुने कुनै ग्यारेन्टी छैन। यदि पाकिस्तानले बाँकी दुईमध्ये एक खेल हार‍यो भने निश्चित रुपमा आउट हुनेछ।

अमेरिकाले पछिल्ला दुई खेलमा हार बेहोर्नु पर्ने :

अमेरिकाले अब जुन १२ मा भारतसँग र जुन १४ मा आयरल्यान्डसँग खेल्नेछ। अमेरिकाले दुवै खेल हारेमा पाकिस्तानको सुपर–८ मा पुग्ने आशा जीवितै रहनेछ।

नेट रनरेटमा पाकिस्तान अमेरिकाभन्दा अगाडि :

यदि पाकिस्तानको भाग्य धेरै राम्रो छ र माथिका दुवै शर्तहरु पूरा भएका छन् भने पनि उसले नेट रनरेटलाई राम्रो राख्नुपर्नेछ। पाकिस्तानको रनरेट माइनस ०.१५ र अमेरिकाको रनरेट प्लस ०.६३ रहेको छ। यस्तो अवस्थामा पाकिस्तानले आफ्ना दुवै खेल ठूलो अन्तरले जित्नु पर्नेछ, त्यसपछि मात्र उसले क्वालिफाई गर्न सक्नेछ।

आयरल्यान्डले गत महिना पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै तीन खेलको टी–२० सिरिज जितेको थियो। आयरल्यान्डले सन् २००७ को एकदिवसीय विश्वकपमा पनि पाकिस्तानलाई हराएको थियो। गत टी–२० विश्वकपमा समूह चरणमा च्याम्पियन इंग्ल्यान्डलाई आयरल्यान्डले पराजित गरेको थियो।

आयरल्यान्डले टी–२० विश्वकपमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, बंगलादेश र जिम्बाब्वेजस्ता शीर्ष टोलीलाई पराजित गरेको थियो। अर्कोतर्फ पाकिस्तान टी–२० विश्वकपमा जिम्बाब्वे र अमेरिकाजस्ता साना टोलीसँग पराजित भएको छ। अर्थात् पाकिस्तानको टोलीले आयरल्यान्डलाई हलुका रुपमा लिन मिल्दैन ।