काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मंगलबार सय अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । साउदी अरेबियामा फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेल यमनविरुद्ध मैदानमा उत्रँदै उनको सय अन्तर्राष्ट्रिय खेल पूरा हुनेछ । ३४ वर्षीय अनुभवी किरण नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो हुनेछन् । उनीभन्दा अगाडि नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जन र राजुकाजी शाक्य हुन् । विराजले ७३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
किरणले नेपालबाट सर्वाधिक खेल खेल्ने कल्पना नगरेको बताएका छन् । ‘देशको प्रतिनिधित्व गर्दै सय खेल खेल्छु भनेर सोचेको थिइनँ । फर्ममा रहँदासम्म कति खेल्न सक्छु भनी यात्रा सुरु गरेको थिएँ,’ किरणले दमाममा नेपाली पत्रकारसँग भने, ‘म अहिले टोलीसँग रमाइलो गरिरहेको छु ।’ गृहजिल्ला धनकुटाबाट फुटबल करिअर सुरु गरेका उनले २४ मे २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध पहिलोपटक उनले अवसर पाए ।
तर, चोटका कारण उनी लामो समय मैदानबाहिर रहे । उनले भारतको चर्चित आइलिग हुँदै सुपर लिग खेलिसकेका छन् । उमेरसँगै उनले आफूलाई उच्च फर्ममा राखेका छन् । राष्ट्रिय टोलीमा निरन्तरता दिने उनी मात्र हुन् । किरण उत्कृष्ट फर्ममा रहेका कारण नै नेपालका अन्य गोलरक्षक विकेश कुथू, विशाल श्रेष्ठ, दीप कार्कीजस्ता प्रतिभाशाली खेलाडी सधैँ बेन्चमै सीमित रहे । यी सबै गोलरक्षकले बारम्बार उनलाई दबाबमा राख्ने कोसिस गरे पनि सफल हुन सकेनन् ।
किरणले आफूलाई सधैँ शतप्रतिशत फर्ममा राख्दै अन्य खेलाडीलाई पछि पारे । नेपालबाहिर व्यावसायिक खेल खेल्ने क्रममा उनले भारतको पन्जाब एफसी, माल्दिभ्सको माजिया, टिसी स्पोर्टस् क्लबलगायतबाट खेलेका छन् । घरेलु टोलीमा धनगढी एफसी, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र, थ्री स्टार र नेपाल पुलिसबाट पनि उनले प्रतिस्पर्धा गरेका थिए ।
अंक खोस्ने प्रयासमा नेपाल
विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको छैटौैँ खेल खेल्ने तयारीमा रहेको नेपाल समूह ‘एच’को पुछारमा छ । नेपालले खेलेका पाँच खेलमै हारको सामना गरेको छ । १८ गोल व्यहोरेको नेपालले एक गोल पनि फर्काउन सकेको छैन । नेपालले यमनविरुद्ध आफ्नो अन्तिम खेलमा नेपालको लक्ष्य अंक ल्याउने रहेको कप्तान किरण बताउँछन् । ‘अघिल्ला खेल राम्रो भएन । हामी यमनविरुद्ध नतिजा निकाल्ने योजनामा छौँ । उनीहरूविरुद्ध ९० मिनेट लड्छौँ,’ उनले उनले ‘हामी अंक जसरी पनि ल्याउने योजनाका साथ प्रतिस्पर्धा गछौँ ।’ समूहमा अंकविहीन रहे पनि फिफा वरीयताको कारण नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने अवसर पाएको छ ।
पाँचमध्ये चार खेल यमनको पक्षमा
हेड टु हेडमा नेपालविरुद्ध यमनले सबै खेल पक्षमा राखेको छ । नेपाल र यमनबीच यो छैटौँ अन्तर्राष्ट्रिय खेल हो । यसअघिका पाँचमध्ये चार खेलमा यमनले बाजी मारेको थियो । यी दुई टोलीबीच एक खेल बराबरी भयो । पाँच महिनाअघि दशरथ रंगशालामा भएको भेटमा यमन २–० ले विजयी भएको थियो । पहिलो खेल सन् २००० मा हुँदा यमनले नेपाललाई ३–० ले हरायो । सन् २०१४ को दोस्रो भेटमा यमन ३–० ले नै विजयी भयो । सन् २०१७ को एसिया कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो । सन् २०१८ मा यमनले नेपाललाई २–१ ले पराजित गर्यो ।
सय खेल खेल्छु भनेर सोचेको थिइनँ कप्तान किरणकुमार लिम्बू
नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्छु भनेर सोचेको थिइनँ । देशका लागि जति सक्छु । त्यति खेल्ने योजनाका साथ सुरु गरेको थिएँ । म अहिले टिमसँग रमाइलो गरिरहेको छु । यसमा खुसी छु । नतिजा आफ्नो पक्षमा राख्न मिहिनेत भइरहेको छ । खेल कसरी नियन्त्रण गर्नुपर्छ त्यसमा सोच्नुपर्छ । हामी कहाँ छौँ र कसरी फुटबल खेलिरहेको छौैँ भन्ने बुझ्नुपर्छ । हाम्रो लेभल लाओसजस्तो हो । व्यावसायिक खेलाडी ७–८ जना नभएसम्म टोलीबाट ठूलो आशा गर्नुहुन्न ।
















