काठमाडौं । क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा पाकिस्तानलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनायो । क्यानडाका ओपनर आरोन जोनसनले ४४ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रन बनाए ।
अन्य कुनैपनि क्यानडाका ब्याटरले राम्रो गर्न सकेनन् । साद बिन जाफर १०, कलिस साना १३, नवनीत धालिवाल ४, परगत सिंह २, निकोलस किर्टोन १ रनमा आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी र नसिम साहले १-१ विकेट लिए ।
पाकिस्तान अमेरिकासँग सुपर ओभर र भारतसँग ६ रनले हारेको थियो । क्यानडा पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित हुँदा आयरल्यान्डलाई १२ रनले हराएको थियो । समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर ८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई आजको खेल जित्नैपर्ने हुन्छ ।