काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा अहिलेसम्म समूह चरणका २३ खेल भइसकेका छन् । २३ औं खेल नेपाल र श्रीलंकाबीच भारी बर्षाका कारण स्थगित भएर समान एक–एक अंक बाँडिएको छ । सबै टोली सुपर आठ चरणमा पुग्ने प्रयासमा छन् । हालको विश्वकपमा धेरै उलटफेर देखिएका छन् ।
समूह डी मा रहेको नेपालका लागि श्रीलंकासँगको खेल स्थगित भएर पहिलो पटक विश्व च्याम्पियन श्रीलंकासँग खेल्ने अवसर गुमेपनि सुखद नै रह्यो । नेट रन रेटका आधारमा नेपाल श्रीलंकाभन्दा माथी उक्लिदै आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भयो ।
यो समूहमा दक्षिण अफ्रिका सुपर ८ छनोट नजिक छ । दक्षिण अफ्रिकी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तीन वटै खेल जितेर सुपर आठ चरणको छनोट लगभग पक्का गरेको हो । अर्कोतर्फ बंगलादेशका लागि भोलि नेदरल्यान्ड्सलाई हराउनु निकै महत्वपूर्ण हुनेछ । यदि यो टोलीले नेदरल्यान्ड्स विरुद्ध जित्यो भने आफ्नो बाटो थप बलियो बनाउन सक्छ ।
नत्र उपविजेता हुँदै नेपाल आउनसक्छ । नेपाललाई जितेको नेदरल्याण्ड्सले सुपर ८ मा जान श्रीलंका र बंगलादेशविरुद्ध पनि जित दर्ता गर्नुपर्नेछ । एक अर्काको हार र जितमा यो समूहको अंकगणित रहने भएकाले अघिल्लो चरण प्रवेश निक्कै रोचक रहनेछ ।
नेपाली टोलीले अझै अफ्रिकासँग हारेर बंगलादेशलाई जिते पनि नेट रन रेटका आधारमा सुपर ८ मा पुग्नेछ । नेपालका स्टार खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने निश्चित भएकाले खेल जित्दै नेपाल सुपर ८ मा पुग्ने सम्भावना बलियो देखिन्छ । सुपर ८ मा पुग्न श्रीलंकाले नेपाल र नेदरल्यान्ड्सविरुद्ध पनि ठूला जित दर्ता गर्नुपर्नेछ थियो । नेपालसँग अंक बाँडैसँगै उसको सम्भावना कम भएको छ । साथै अन्य टोलीको नतिजामा पनि भर पर्नेछ ।












