काठमाडौँ । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
नेपाललाई दोस्रो सफलता दिलाउनेक्रममा दीपेन्द्र सिंह ऐरीले नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले तान्जिद हसन शून्यमै आउट गरे ।
सोमपालले उनलाई शून्यमै पवेलियन फर्काएका हुन् । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।
नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो ।
नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा हुनेछ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । त्यसकारण बंगलादेश नेपालविरुद्ध पूरा तयारीका साथ मैदान उत्रिनेछ । तालिकामा बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,
बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।
















