काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ । नेपालका लागि रोहित कुमार पौडेलले विकेट लिएका हुन् । तोहिद हृदोय ९ रन बनाएर आउट भएका हुन् । बंगलादेशले ५.४ ओभरमा ४ विकेटको क्षतिमा ३० रन बनाएको छ ।
नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ४.३ ओभरमा लिटन दासलाई १० रनमा क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता दिलाउने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तान नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे ।
त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा सोमपालले तान्जिद हसन शून्यमै आउट गरे । सोमपालले उनलाई पहिलो ओभरको पहिलो बलमै तान्जिद हसनलाई शून्यमै पवेलियन फर्काएका हुन् ।
सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ । उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ ।
बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।
उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ । नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,
बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।