काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस जितेर पहिला बलिङ गरेको नेपालले बंगलादेशलाई १९.२ ओभरमा १०६ रनमा अल आउट गर्यो ।
नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुवात गरेका थिए । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए ।
नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।
सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ । उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ ।
बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।
उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ । नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,
बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।