बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, एकै ओभरमा गुमायो दुई विकेट

Image

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले तेस्रो ओभरमा दुई विकेट गुमायो । यो ओभरको पहिलो बलमा कुशल भुर्तेल चार रनमा बोल्ड भए । यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए । उनीहरूलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन् ।

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३–१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।

नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने ।