बंगलादेशविरुद्ध संकटमा नेपाल, ७ ओभरमा गुमायो ५ विकेट

Image

काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले ७ ओभरमा ५ विकेट गुमाएको छ।

सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले सातौं ओभरको अन्तिम बलमा पाचौं विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो।

सन्दीपलाई तान्जिम होसेन शाकिबले रिसद होसेनबाट क्याच आउट गराएका हुन्। आउट हुनुअघि जोराले ८ बल खेलेर एक रनमात्रै बनाए। उनको विकेटपछि दिपेन्द्रसिंह ऐरी ब्याटिङमा आएका छन्।

यसअघि कप्तान रोहित पौडेल १ रनमा, ओपनर आशिफ शेख १७ रनमा, अनील साह शून्यमा र ओपनर कुशल भूर्तेल ४ रन बनाएर आउट भएका थिए। नवौं ओभरको खेल जारी रहँदा नेपालले ५ विकेट गुमाएर ३८ रन बनाएको छ।

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३–१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने ।