टीयू बीबीए कप क्रिकेट असार १२ देखि सुरु हुने, २२ टोलीको सहभागिता

Image

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरिबाट बीबीए अध्यापन गर्ने कलेजहरु सम्मिलित टीयू बीबीए कप क्रिकेट यही असार १२ गतेदेखि सुरु हुने भएको छ ।

साविक विजेता टीम काठमाडौंको पब्लिक युथ क्याम्पसको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा अहिलेसम्मकै धेरै टोलीको सहभागिता रहने आयोजक टोलीले जनाएको छ । प्रतियोगितामा २२ टोलीको सहभागिता रहेनछ ।

झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलो पटक सहभागिता जनाउन लागेका छन् । प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आयोजक इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाका अनुसार वर्षाको सिजन भएकाले एकै दिनमा ३ खेल पनि खेलाउनुपर्ने अवस्था आउन सक्ने बताउँदै टोलीहरुलाई त्यहीअनुसार तयार रहन आग्रह गरेका छन् ।

आयोजक पब्लिक युथ क्याम्पसका बीबीए डाइरेक्टर राजुभाइ मानन्धरले बीबीएबाट उत्कृष्ट टीम र खेलाडी निस्कनेमा आशावादी रहेको बताए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पस खेल्नेछन् ।