काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। दीपेन्द्र र सन्दीप सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि-ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको हो ।
लगातार तेस्रो हार बेहोर्ने क्रममा भेनकुभर मोन्ट्रियल टाइगर्स विरुद्ध १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए ।
त्यसबाहेक रिजा हेन्ड्रीक्सले ३४ तथा डवेन प्रिटोरियसले ३० रन जोडे । हर्श ठाकेरले १८ रन बनाए । मोन्ट्रियलका आयान अफजल खानले ३ तथा कलिम सनाले २ विकेट लिए । एक विकेट अज्मतुल्लाह ओमारजाईको नाममा रह्यो ।
त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो ।
भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन्।
यो पनि पढ्नुहोस् : यस्तो रह्यो सन्दीपको ४ ओभर
यस्तै भेनकुभरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए । मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए । यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन बनाएका थिए भने अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए ।
टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे । भेनकुभरको अर्को खेल बिहीबार हुनेछ ।
६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर जितबिहीन छ। यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो।
उक्त खेलमा लामिछानेले दुई विकेट लिएका थिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ २ बलको सामना गरेका दीपेन्द्रले १ रन मात्र जोडेका थिए। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडेका थिए।
भ्यानकुभरको पहिलो खेल
पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।
सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।