सन्दीप र ललितको उत्कृष्ट बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी

Image

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानिय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

२ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे । नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४७.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडे ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ विकेट लिए ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।