काठमाडौँ । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र भारतको क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणको प्रदर्शनको आधारमा हेल्प नेपाललाई बलियो मान्न सकिन्छ। उसले लिग चरणमा क्यालिकटलाई हराइसकेको छ।
हिजो भएको सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको इरान यु १८ लाई हराउँदै क्यालिकटले टोली कमजोर नभएको सन्देश दिसकेको छ। इरानसँग पनि क्यालिकट लिग चरणमा हारेको थियो। सेमिफाइनलमा ३-१ ले हराउँदै क्यालिकटले फाइनलमा स्थान बनाएको हो।
क्यालिकटको रिच र अटयाकलाई रोक्ने चुनौती हेल्प नेपाललाई रहनेछ। हेल्प नेपालले लिग चरणमा एक खेल हारेपनि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लयमा देखिएको हेल्प नेपालले हिजोको सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराएको थियो।
क्यालिकटलाई माथ दिँदै काभा क्लब च्याम्पियन्सिपको पहिलो संस्करणमा च्याम्पियन बन्नको लागि हेल्प नेपालले डिफेन्स र ब्लकमा मजबुत प्रदर्शन गर्न जरुरी छ। हेल्प नेपाललाई आज घरेलु दर्शकको साथ पनि रहनेछ।
फाइनल दिउँसो ३:३० बजे राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ। त्यसअघि तेस्रो स्थानको लागि हुने खेलमा इरान यु-१८ ले सामना क्लब एचडिसीसँग हुनेछ । यो खेलमा इरानी टोली हाबी हुने संभावना छ। यो खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। दुवै खेल हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीलेले प्रत्यक्ष प्रसारण गर्नेछ।















