सुनचाँदी व्यवसायमा चुनौती चुलिँदै, समाधान खोज्न नयाँ नेतृत्व सक्रिय

Image

हेटौंडा/ हेटौँडा, मकवानपुर सुनचाँदी व्यवसायीहरूले भोगिरहेका आपूर्ति, मूल्यवृद्धि र करसम्बन्धी चुनौतीबीच मकवानपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिति औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ।

संघको पाँचौँ अधिवेशनबाट निर्वाचित नेतृत्वको पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष गोपीलाल विश्वकर्माले व्यवसायलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउने दिशामा आफूहरू सक्रिय रहने बताए। कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाश गहतराजले देशभरकै व्यवसायीहरू समान समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि महासंघमार्फत पहल गरिने बताए।

कार्यक्रममा बोल्दै बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यले अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावका कारण सुनको मूल्य निरन्तर उकालो लागेको बताए। उनले विशेष गरी १० लाख रुपैयाँभन्दा माथिका गहना तथा हिरा–मोतीजडित सामग्रीमा लगाइएको २ प्रतिशत विलासिता करले व्यवसायमा थप दबाब सिर्जना गरेको भन्दै यसको पुनरावलोकन आवश्यक रहेको धारणा राखे।

पूर्व अध्यक्ष केशव रसाइलीले नयाँ कार्यसमितिलाई सरकार र व्यवसायीबीचको दूरी घटाउने अवसरका रूपमा लिन सुझाव दिए। उनले व्यवसायसँगै सीप विकासलाई प्राथमिकता दिँदै तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। संस्थापक अध्यक्ष पूर्ण शाक्यले सरकारी नीति–नियमका कारण व्यवसाय सञ्चालनमा जटिलता बढ्दै गएको भन्दै सम्बन्धित निकायसँग संवाद र समन्वय अपरिहार्य रहेको बताए।

२०५३ सालमा स्थापना भएको संघले नयाँ नेतृत्वमार्फत व्यवसायीका हकहित संरक्षण, बजार व्यवस्थापन र नीतिगत सुधारका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। तीन वर्षे कार्यकालका लागि चयन गरिएको २८ सदस्यीय कार्यसमितिमा विभिन्न पदाधिकारीसहित सदस्यहरू समावेश रहेका छन्, जसले आगामी दिनमा व्यवसाय क्षेत्रका चुनौती सामना गर्दै अवसर सिर्जना गर्ने लक्ष्य लिएका छन्।