आन्दोलनपछि बागमतीका सरकारी भवन पुनः सञ्चालनमा, पुनर्निर्माण सम्पन्न

Image

हेटौंडा/ भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा क्षति पुगेका बागमती प्रदेशका सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै सेवा प्रवाह पुनः सामान्य अवस्थामा फर्किएको छ। सोमबार हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुनर्निर्मित संरचनाहरूको उद्घाटन गर्दै अब सरकारी कामकाज सहज रूपमा सञ्चालन हुने बताउनुभयो।

आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण मन्त्रालयहरू प्रभावित भएका थिए, जसले केही समय सेवा प्रवाहमा अवरोध सिर्जना गरेको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै ती समस्याहरू हटेको प्रदेश सरकारले जनाएको छ।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक मर्मतका लागि १ करोड २८ लाख रुपैयाँ खर्च गरिएको थियो। त्यसपछि थप संरचनागत सुधार गर्दै समग्र पुनर्निर्माण कार्य सम्पन्न गर्न करिब ३ करोड ९५ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

मुख्यमन्त्री बानियाँले अन्य प्रदेशको तुलनामा बागमतीले क्षतिग्रस्त संरचनाहरू छिटो पुनःस्थापना गर्न सफल भएको दाबी गर्नुभयो। उहाँले पुनर्निर्माणले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।