हेटौंडा सहिद स्मारकमा जनजाति संग्रहालय सञ्चालन हुने

Image

हेटौंडा / सहिद स्मारक हेटौंडामा जनजाति संग्रहालय सञ्चालन हुने भएको छ। संग्रहालयको पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असारको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

स्मारक विकास समितिका सदस्य नवीन सिग्देलका अनुसार संग्रहालय सञ्चालनका लागि विभिन्न जनजाति संगठनका अगुवाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
समितिका अध्यक्ष तथा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आदिवासी जनजाति समुदायका भेषभूषा, रहनसहन, रीतिरिवाज, भाषा तथा संस्कृतिको पहिचान झल्काउने सामग्री संकलन गरी संग्रहालयमा राखिने जानकारी दिनुभयो। उहाँका अनुसार संग्रहालय अध्ययन तथा अनुसन्धानको केन्द्रका रूपमा विकास हुने र विभिन्न जातजातिका असल संस्कार तथा मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्नेछ।

प्रारम्भिक चरणमा चेपाङ, तामाङ, नेवार, थारू, माझी, मगर, गुरुङ, राई, लिम्बू, सुनुवार, बनकरिया, पहरीलगायत समुदायका पहिचान झल्काउने सामग्रीहरू संग्रहालयमा राख्ने तयारी गरिएको छ।
संग्रहालय सञ्चालनका लागि आवश्यक सामग्री संकलन तथा समन्वय गर्न रामकृष्ण थापाको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। समितिमा सबै जनजातिका अगुवाहरू सदस्य रहेका छन्।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, सदस्यहरू नवीन सिग्देल, ईन्द्रप्रसाद नेपाल, कृष्णराम न्यौपाने, कार्यालय प्रमुख रामचन्द्र न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङलगायत विभिन्न जातीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।