हेटौंडा / हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देलले सामाजिक सञ्जालमार्फत सरकारसँग गम्भीर प्रश्न उठाएका छन्।
उनले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी प्रशासन सक्रिय भएको उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय र संसद् भवनमा आगजनी हुँदा सुरक्षा निकाय कहाँ थियो भनी प्रश्न गरेका छन्।
सिग्देलले भदौ २३ गते भएको गोलीकाण्डबारे पनि प्रश्न उठाउँदै त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट पारिनुपर्ने बताएका छन्। “प्रधानमन्त्रीले नै आदेश दिएका हुन्?” भन्ने प्रश्न गर्दै उनले गोली चलाउने र मान्छे मार्नेहरूलाई कारबाही गर्न माग गरेका छन्।
उनले महिला तथा बालबालिकामाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै निर्दोष नागरिकलाई दुःख दिने कार्य निन्दनीय भएको बताएका छन्।
त्यस्तै, भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगले पटक–पटक म्याद थप्दा पनि पूर्ण प्रतिवेदन सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आयोगका सदस्यहरूले लिएको सुविधा र तलबभत्ता राज्यलाई फिर्ता गर्नुपर्ने उनको माग छ।
सिग्देलले दुवै दिनका घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष नागरिक आयोग गठन गर्नुपर्ने बताए। साथै, हिंसा उक्साउने, आदेश दिने, गोली चलाउने तथा राष्ट्रिय सम्पत्ति जलाउने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको जोड छ।
“प्रहरीलाई बन्दुक बोकेर महिला तथा बालबालिकालाई तर्साउने, रुवाउने र उठिबास लगाउने अधिकार छैन,” उनले भने, “हिम्मत छ भने वास्तविक अपराधीलाई कारबाही गर।”
एकदलीय सरकारको आरोप लगाउँदै सिग्देलले सरकारलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।
















