मकवानपुरमा पहिलोपटक अर्धमासिक तलब प्रणाली लागू, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अगाडि

Image

हेटौंडा/ मकवानपुर जिल्लामा पहिलोपटक अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अग्रसर बनेको छ। नेपाल सरकारको अर्थ मन्त्रालयले गत वैशाख ४ गते जारी गरेको परिपत्रअनुसार अब सार्वजनिक निकायहरूले तलबलाई मासिक दुई किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरिएको हो।

उक्त निर्देशनअनुसार बोर्डले आफ्ना कर्मचारीहरूको तलब अर्धमासिक रूपमा भुक्तानी सुरु गरेको हो। बोर्डमा कार्यरत १०४ जना कर्मचारीलाई मासिक करिब ३८ लाख २४ हजार रुपैयाँ तलब भुक्तानी हुँदै आएकोमा पहिलो चरणमा करिब १९ लाख १२ हजार रुपैयाँ निकासा गरिएको लेखा प्रमुख तथा सूचना अधिकारी सञ्जय कुमार न्यौपाने ले जानकारी दिएका छन्।

उनका अनुसार अबदेखि कर्मचारीहरूले मासिक तलब एकमुष्ट रूपमा पाउने सट्टा दुई किस्तामा प्राप्त गर्नेछन्। यस प्रणालीले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउने तथा आर्थिक अनुशासन र पारदर्शिता मजबुत बनाउने अपेक्षा गरिएको छ।

सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई थप व्यवस्थित र उत्तरदायी बनाउन यस्तो प्रणाली लागू गरेको बताइएको छ। जिल्लास्तरमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पहिलो संस्थाका रूपमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड देखिएको छ।