हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारमा आयोजित वडा स्तरीय “स्वस्थ बाल प्रतिस्पर्धा”मा जेनिश स्याङ्तान (२६ महिना) प्रथम भएका छन्। नामटार स्वास्थ्य चौकी अन्तर्गत ६ देखि ३६ महिनासम्मका बालबालिकाबीच विभिन्न स्वास्थ्य सूचकका आधारमा गरिएको प्रतियोगितामा आशिका रुम्बा (३४ महिना) द्वितीय र सन्ध्या बल (३३ महिना) तृतीय भएकी स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए। प्रतियोगितामा ४६ जना बालबालिकाको सहभागिता रहेको थियो।
कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष भूवन सिंह घलानको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथि रहेका थिए।
अध्यक्ष मुक्तानले स्वस्थ बालबालिकाको पहिचानका लागि यस्ता प्रतिस्पर्धात्मक कार्यक्रम प्रभावकारी हुने बताए। उनले “सुनौला हजार दिन” अवधिदेखि नै आमा र शिशुको नियमित स्वास्थ्य जाँच आवश्यक रहेको उल्लेख गर्दै सरकारका मापदण्ड र सूचकका आधारमा मूल्यांकन गरिएको स्पष्ट पारे।
उनले बच्चाको स्वास्थ्यसम्बन्धी ज्ञान आमासँग रहने भएकाले आमा सचेत हुनुपर्ने र बिरामीपछि आवश्यक उपचारबारे जानकारी राख्नु जरुरी रहेको बताए। साथै, पोषण कार्यक्रमले आमा र शिशुको स्वास्थ्य सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने र गाउँपालिकाले यस क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
उपाध्यक्ष बालकुमार मल्लले नियमित स्वास्थ्य परीक्षणले मात्रै स्वस्थ बालबालिकाको पहिचान सम्भव हुने बताए। उनले प्रतिस्पर्धामा नतिजा नआउनुको कारण मापदण्ड पूरा नभएको हुन सक्ने उल्लेख गर्दै आमाहरूले बालबालिकाको स्वास्थ्यप्रति अझ ध्यान दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, सिनियर अहेव सुधिर महत्तो, नामटार स्वास्थ्य चौकी प्रमुख पंकज साह लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

















