“एकदलीय सरकारको हर्कत खेदजनक” : अध्यक्ष सिग्देल

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल ले देशभरको जग्गा व्यवस्थापन र सुकुम्बासी पहिचानको विषयलाई लिएर सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अहिले चर्चा र बहसको विषय बनेको छ।

वडा अध्यक्ष सिग्देलले ऐलानी, सार्वजनिक तथा सरकारी अतिक्रमित जग्गाको स्पष्ट पहिचान र वर्गीकरण नगरेको आरोप लगाएका छन्। उनका अनुसार वास्तविक सुकुम्बासी छुट्याउने कार्यसमेत प्रभावकारी रूपमा हुन सकेको छैन। उनले जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग भएको हो कि सार्वजनिक वा सामूहिक प्रयोजनमा, कति वर्षदेखि र कस्तो प्रक्रियाबाट प्रयोग भइरहेको छ भन्ने आधारमा छुट्याउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिएको बताएका छन्।

सिग्देलले सरकारले जथाभावी हल्ला फैलाएर जनतामा त्रास सिर्जना गरेको आरोप लगाउँदै निहत्था नागरिकलाई अमानवीय ढंगले उठिबास लगाउने काम भइरहेको बताएका छन्। उनले आवश्यक व्यवस्थापनका योजनाबद्ध कार्यक्रम नभएको भन्दै यस्तो कार्यले स्थानीयवासीलाई झनै आतंकित बनाएको उल्लेख गरेका छन्।

उनले आफ्नो अभिव्यक्तिमा वर्तमान अवस्थालाई “सहरमा गैँडा पसेर स्थानीयबासी आतंकित भएजस्तै” भएको टिप्पणी गर्दै एकदलीय सरकारको शैलीप्रति असन्तोष व्यक्त गरेका छन्।