बागमतीमा सचिव हेरफेर, चार जनालाई नयाँ जिम्मेवारी

Image

हेटौंडा/ बागमती प्रदेश सरकार ले प्रशासनिक संरचनामा फेरबदल गर्दै चार जना सचिवको पदस्थापन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका तीन जना र प्रदेशमै कार्यरत एक सहसचिवलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ का अनुसार महेश भट्टराई लाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व दिइएको छ। यस्तै नारायण मैनाली लाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा अनिता निरौला लाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

सङ्घीय सरकारले हालै सरुवा गरेका चार सहसचिवमध्ये तीन जना प्रदेशमा हाजिर भइसकेका छन् भने एक जना अझै कार्यभार सम्हाल्न बाँकी रहेको जनाइएको छ। यसैक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हेमराज भुसाल लाई नीति तथा योजना आयोगमा सरुवा गरिएको छ।

यससँगै मन्त्रिपरिषद्ले त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपाली लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।