हेटौंडा/ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन आज साउन १ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा राहदानी बनाउने प्रयोजनका लागि राजस्व दाखिला गर्ने पहिलो सेवाग्राहीलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सम्मान गर्नुभएको छ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले पहिलो सेवाग्राहीलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममार्फत सेवाग्राहीमैत्री सेवा प्रवाह, नागरिकप्रतिको उत्तरदायित्व तथा सार्वजनिक सेवाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेवाप्रवाहलाई अझ प्रभावकारी, छिटो, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सेवाग्राहीमैत्री प्रशासन निर्माणका लागि कार्यालय निरन्तर सक्रिय रहने बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी दिनमा पनि सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई सरल, सहज, पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।













